लोकतान्त्रिक पद्धतिमा मात्र वैयक्तिक स्वतन्त्रताको रक्षा हुन्छ : सभापति देउवा

21

काठमाडौँ, १६ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गरेका छन् ।

सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै उनले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने र यसबाट नै विद्यमान विसङ्गतिहरुको अन्त्य हुने बताएका हुन् ।

“लोकतन्त्रको एउटा सबल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय, सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए”, सभापति देउवाले सन्देशमा उल्लेख गरेका छन् ।

लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो संघर्षमा अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएका छन् । नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने सहिदहरूमा श्रद्धा व्यक्त गर्न, उनीहरूको साहस, सङ्कल्प र आदर्शलाई सम्मान गर्न ‘सहिद दिवस’ मनाइन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...