‘क्यास’ नबोक्नु मेरो गल्ती होर ?

42
  • केशब सापकोटा

हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडिकै बाटो हिँड्ने म लाइसेन्स रिन्यु गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोलि’ जस्तो ‘भोलि भोलि’ भन्दै हिँडिरहेको थिए । समस्या परेपछि मात्र चेत खुल्ने मेरो बानी १ सायद ट्राफिक प्रहरीको फन्दामा नपरेर होला १ भोलि जान्छु भन्दाभन्दै ४ महिना कटेको पत्तै भएन ।

मंगलबार भने कार्यालय निस्कनेबित्तिकै सबैभन्दा पहिले यातायात व्यवस्था कार्यालय गौरीघाट गएँ । लाइसेन्स रिन्यु गर्ने स्थानमा अन्य समयको भन्दा भीड थिएन । भर्खर १० बजेकाले होला ।

कोठा नम्बर ३ मा गएर सोधे–‘लाइसेन्स रिन्यु गर्नुपर्ने थियो ।’
कार्यालयका कर्मचारीले पहिले २ नम्बर कोठामा लाइसेन्स र नागरिकताको सक्कलसहित जानु भने । २, जनापछि पालो आइहाल्यो । कर्मचारीले लाइसेन्स नम्बर कम्प्युटरमा इन्ट्री गर्दै एउटा प्रिन्ट निकालेर मलाई दिँदै फेरि ३ नम्बर कोठामा जानु भन्यो । पहिले नै ३ नम्बर कोठामा गएको फेरि गए । हाकिम साब हिटर ताप्दै बस्नुभएको रहेछ । मैले लाइसेन्स र प्रिन्ट गरेको पेपर दिँदै भने, ‘सर, २ नम्बरबाट पठाइदिनुभएको ।’
उहाँले लाइसेन्स हेरेर त्यसको नम्बर कम्प्युटरमा इन्ट्री गर्दै ८ नम्बर कोठामा जान भन्नुभो ।

आठ नम्बर कोठा मेडिकल जाँच गर्ने ठाउँ रहेछ । ५० रुपैयाँको रसिद काटेर लाइन बसे । ४, ५ जनापछि पालो आइहाल्यो । बाहिरबाटै एउटा आँखा छोपेर ७ देखि १० फिटको दूरीबाट अंग्रेजी सिम्बोलहरु हेर्न लगाइयो । सबै मिलाए । त्यसपछि कोठाभित्र गएर केही अंकहरु पढेँ । सबै मिलेपछि कम्प्युटरमा इन्ट्री गर्नुपर्दो रहेछ । तर, मेरो रेकर्ड त्यहाँको कम्प्युटरले देखाएर । ‘तपाईंको रेकर्ड देखाएन, ३ नम्बरमा जानुस्’ त्यहाँ कार्यरत पुरुष कर्मचारीले भने ।
‘सर, भर्खर त्यहीँ बाट आएको’ मैले भने ।
मेरो रेकर्ड नदेखिएकोले पुनः ३ नम्बरमा चेक गरेर इन्ट्री गराएर आउनु भन्नु’भो ।

मनमा चिसो पस्यो मेरो, केही दिन अगाडि मात्रै यातायात व्यवस्था कार्यालयबाट मिलेमतोमा १ लाख नक्कली लाइसेन्स निकालिएको समाचार प्रकाशित भएको थियो । कतै मेरो लाइसेन्स पनि नक्कली भनेर छानबिनमा त परेन ! त, मैले त बक्काइदा लाइसेन्स परीक्षा पास गरेको थिए । त्यसको भिडिओ पनि हेर्न पाइन्छ भन्ने थियो । त्यसकारण मनको चिसो मेटाउँदै फेरि ३ नम्बर कोठाकै हाकिमकोमा गएँ ।

‘सर, ८ नम्बरबाट फेरी यहीँ पठाउनुभयो,’ हाकिमका अगाडि पर्दै मैले भने । उहाँले नागरिकता देखाउनुस् भन्नुभयो । तर, मैले नागरिकता बोकेको थिइनँ । ‘सर, अफिस हिँडेको नागरिकता बोकेकै छैन के गर्ने होला १’ मैले आफ्नो समस्या भने ।
‘नागरिकता चाहिन्छ,’ उहाँले भन्नुभयो ।
‘अरु कार्ड मतदाता परिचयपत्र, प्यान कार्ड छ ?’ हाकिमसावले भन्नुभयो ।
हतारहतार पर्स खोतल्दै मतदाता परिचयपत्र देखाएँ । उहाँले सायद, नागरिकता नम्बर होला इन्ट्री गर्नुभयो होला । ‘ल ८ नम्बरमै जानुस्’ साइन गर्दै भने ।
‘हस् धन्यवाद सर’ भन्दै हतारहतार ८ नम्बर कोठातिर कुदे ।

एक जना सेवाग्राहीको इन्ट्री हुँदै गर्दा मेरो पालो आइहाल्यो । तर, अकस्मात कार्यालय पोशाकमै बुढानिलकण्ठ नगरपालिकामा काम गर्ने २ जना (महिला पुरुष) कर्मचारी आइपुगे । पुरुष कर्मचारीले मलाई ठेल्दै मेडिकलका कर्मचारीसँग कुरा गर्दै ‘म्याडमको भयो ल सर, यो गर्दिनुस् त’ भन्दै भने–‘उहाँ पक्काको मान्छे हो, पछि बच्चाबच्चीलाई भ्याक्सिन लगाई माग्न सजिलो हुन्छ । मैले भनेको थिएन नी सर, उहाँको हुन्छ भनेर ।’ यस्तै कुरा गरे । ती कर्मचारीले मेरो काम गर्नुको सट्टा ती महिला कर्मचारीसँग मुस्काउँदै उनको काम अगाडि गरे ।

उसको पछि मेरै पालो आउने हो भन्दै खासै प्रतिवाद गरिन । तर, काम भइसकेपछि पनि गफमा अल्झिइरहेको देख्दा चै रिस उठेको थियो । रिस खाइ आफू बुद्धि खाई अरु भन्थे । मौन नै बसे । ४ मिनेट तिर मेरो कागजात समाएर इन्ट्री गरिदिँदै अब ७ कि ४ नम्बर भने अहिले बिर्सिए, त्यहाँ जानु भने ।
राजश्व तिर्ने ठाउँ रहेछ । एकजना महिला कर्मचारी रहिछिन्, झ्यालबाटै लाइसेन्स र कागज दिए ।
कम्प्युटरमा इन्ट्री गर्दै भनिन् ‘चार हजार’
‘हँ, चार हजार कसरी ?’ मैले सोधेँ ।
‘तपाईंको रिन्यु फेल छ, डबल जरिबाना पर्यो,’ म लाचार भएँ ।

समस्या यहाँनिर आइपर्यो । म सँग २ हजार, २५ सय जति क्यास थियो । ‘क्यास पुग्दैन, क्यूआर दिनुन’ मैले भने । म प्रायः पैसाको कारोबार मोबाइल बैंकिङ, अनलाइन, एटिएम वा क्युआरबाट गर्छु । क्यास कमै बोक्छु । जान्ने भएर होकी के यसले कहिले काही यस्तै समस्यामा पर्छु ।

‘क्युआरबाट लिन मिल्दैन । क्यासै चाहिन्छ । क्यास नबोकी किन आएको ?’ कर्मचारीले भनिन् । ‘ला.. मसँग क्यासै पुगेन यता एटिएम होला ?’ मैले सोधे ।
‘एटिएम छैन तपाई तल जानुस त्यहाँ पसल (विचौलिया)हरुमा ट्रान्सफर गरिदिनु उनीहरुले क्यास दिन्छन् ।’ उनले सुझाइन् ।

हतार हतार यातायात कार्यालय भवनकै भित्रपट्टी लाइनै रहेका काउन्टर जस्ता (विचौलियाका अखडा) कहाँ गए । ‘कति चाहिने ? एउटा काउन्टरमा पैसा ट्रान्सफर हुन्छ भनेर सोध्दै गर्दा युवतीबाट जवाफ पाएँ ।
‘दुई हजार, चार्ज २०० लाग्छ,’ जवाफ आयो ।

‘वाफ रे २ हजार ट्रान्सफर गर्दा २ सय यो त अत्ति भएन ! ८ रुपैयाँको काम हो’ त्यो पनि मेरै एकाउन्टबाट काट्छ !’ आश्चर्य लाग्दै प्रश्न गरे ।

२ सय दिएमात्र काम गरिदिने भन्दै ती युवतीले जवाफ फर्काइन् । नजिक एटिएम थिएन, मलाई हतार थियो । बाध्यतामा परें । आफ्नो एकाउन्टबाट उसको एकाउन्समा २ हजार हालिदिए । २ सय क्यास दिए । युवतीले २ वटा हजारका नोट थमाइन् । पैसा लिँदै गर्दा ‘लुटतन्त्र नै रहेछ नी’ भन्न मन लाग्याथ्यो । तर, बोली फुस्किएन ।

दगुर्दै राजश्व तिर्ने झ्यालतिर गएँ । ४ हजार दिएपछि पैसा बुझाएको रसिद पाइयो ।
तपाईंको काम सकियो, ‘अब कहाँ जाने ? भनेर प्रश्न गर्दा उत्तर पाएँ ।
‘लाइसेन्स लिन कहिले आउनु ?’ सोधेँ ।
‘एक वर्षपछि,’ मतिर नहेरी जवाफ दिइन् । सोधिहाले, ‘त्यतिञ्जेल के गर्ने ?’

पुरानो लाइसेन्स बोक्ने, ट्राफिकले माग्दा पुरानो लाइसेन्स र यो रसिद देखाउने ।’ उनको रेडिमेड जवाफ आयो । लाइसेन्स रिन्यु गर्न आउने हरेकलाई उनले दिने जवाफ त्यही रहेछ ।

सेटिङमा लाइसेन्स बाँडेको समाचारको एक दुई दिनमा यातायात व्यवस्था कार्यालयमा लाखौँ लाइसेन्स आएको समाचार पनि पढेको थिएँ । मैले आज मात्रै रिन्यु गरेकाले त्यसभित्र मेरो लाइसेन्स पर्ने कुरा त भएन ।

यातायात व्यवस्था कार्यालयको गेटबाट बाहिरिँदै गर्दा एउटाले भन्यो ‘दाइ लाइसेन्स अर्जेन्ट चाहिने हो भने काम गरिदिन्छु !’ मैले भने, ‘भो भाइ पर्दैन, म कुरेरै लिउँला ।’

मेरो गल्ती, या अपराध !
समयमै लाइसेन्स रिन्यु गर्नुपर्छ भन्ने चेत हुँदाहुँदै लाइसेन्स रिन्यु नगर्दा डबल फाइनमा पर्नु ।
केही सरकारी तथा अधिकांश नीजि कार्यालय र व्यवसायमा क्यासलेस (कार्ड, अनलाइन)बाट कारोबार हुन्छ यातायातमा पनि होला भन्ठानेर क्यास पैसा नलिइकन जानु ।

यातायात व्यवस्था कार्यालयको गल्ती या कमजोरी
क्यासलेस (क्यूआर, एटिएम, अनलाइन) सेवा सञ्चालन नगर्नु ।
कार्यालय परिसरमै विचौलियालाई ठाउँ दिनु ।

सरकारले जनतालाई सवर्सुलभ सेवा प्रदान गर्ने होभने, प्रविधिमैत्री हुनुपर्ने हो । तर, नेपालका अधिकांश सरकारी निकाय जानीजानी सेवाग्राही नबनाइएको हो । हरेक सरकारी निकायले लिने राजश्व अनलाइन बैकिङ प्रणालीबाट डाइरेक्ट सरकारी खातामै जम्मा गर्ने व्यवस्था गर्न कुनै ठुलो कार्य हैन । तर, यसो गर्दा त्यहाँका हाकिम र कर्मचारीहरूले विचौलियाबाट दैनिक पाउने खान्की गुम्दो चैं रहेछ । नत्र, हरेक निजी कार्यालयहरू अनलाइन सिस्टममा गइसक्दा यातायात व्यवस्था कार्यालयलाई चाहीँ केले रोकिरहेको हो ?

पछिल्लो समय क्यासलेस सिस्टम हरेक क्षेत्रमा पुगिसक्यो । नीजि कार्यालयहरूदेखि ठूल्ठूला सपिङ मलसम्म क्यासलेस छ । तरकारी किन्न जाँदा होस् वा लुगाकपडा किन्न जाँदा मोबाइल, एटिएमबाटै भुक्तानी गर्न सकिन्छ । यहाँसम्मकी सैलुनमा, सार्वजनिक शौचालयमा समेत क्युआरबाट पैसा तिर्न सकिन्छ ।

क्यासलेसको अर्को फाइदा तपाइले कुनै पनि सेवा र वस्तुको जति मुल्य हुन्छ त्यत्ति नै दिन सक्नुहुन्छ । उदाहरणका लागि १२०.५० पैसाको सामान किन्नुभयो भने तपाईंले मोबाइल बैकिङ वा कार्ड स्वाएपबाट त्यत्ति नै पैसा तिर्न सक्नुहुन्छ ।

तर, नगद कारोबार गर्दा १२०.५० पैसा दिन सकिन्न । आजभोलि ५० पैसा हैन ५ रूपैयाँभन्दा तलको नोट नै पाइन्न । यस्तोमा तपाईंले कि १२० मा सामान वा सेवा पाउनुपर्यो या तपाईंले ५ रूपैंया बढी तिर्नुपर्यो । अँ, किराना पसलमा चकलेट छ भने २, ४ वटा पाउनुहुन्छ १२५ रूपैयाँ तिरेपछि । भन्नेले जाबो ५, १० रूपैयाँको कुरा भन्लान् तर, हरेक सेवाग्राहीबाट ५, १० रूपैयाँ बढी लिएकाहरूलाई भ्रष्टाचार गर्न हामीले नै पो प्रोत्साहन गरिरहेका छौं कि !

जनतालाई सहज रूपमा डेलिभरी दिने क्षेत्रलाई प्रविधिमैत्री बनाउँदा सुशासन कायम हुन्छ । विचौलिया हट्छन् । राज्यप्रति, सरकारप्रति नागरिकको विस्वास बढ्छ । यति कुरा पनि राज्य चलाउनेहरूका मस्तिष्कमा किन नघुसेको होला ! यो चेत यातायात व्यवस्था कार्यालयमा मात्र हैन राज्यका हरेक निकायमा कहिले पुग्ला !

Share This:
सम्बन्धित खबर
Loading...