यू–१९ विश्वकप क्रिकेट : पाकिस्तानद्वारा नेपाल पराजित

22

काठमाडौँ, ११ माघ । आइसिसी उन्नाइस वर्षमुनि (यू–१९) विश्वंकप क्रिकेटअन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बुधबार सम्पन्न खेलमा नेपाललाई पाकिस्तानले ५ विकेटले हराएको हो । जितसँगै पाकिस्तान समूह ‘डी’बाट सुपर सिक्समा प्रवेश गरेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाकिस्तानलाई जितका लागि १९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त विजय लक्ष्य पाकिस्तानले ५ विकेटको क्षतिमा ४७.४ ओभरमा पूरा गर्यो । पाकिस्तानका लागि आजन आविसले अविजित ६३, शम्याल हुसेनले ३७, शाहजैब खानले ३७, अहमद हसनले २९ तथा हारुन अर्शदले अविजित १५ रन बनाए ।

बलिङतर्फ नेपालका आकाश चन्दले तीन तथा आकाश त्रिपाठी र दिपेश काडेलले एक-एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नेपालले सबै विकेट गुमाएर १९७ रन बनाएको थियो । नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ६८ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरे ।

यस्तै, दीपक डुम्रेले ५८ बल खेल्ने क्रममा एक छक्कासहित २६ रन बनाए । कप्तान देव खनालले ३७ बलमा तीन चौकासहित २३, गुल्शन झाले १८, सुवास भण्डारीले २०, आकाश चन्दले अविजित १६, दिपेश कँडेलले १३ तथा अर्जुन कुमाल र आकाश त्रिपाठीले समान ६-६ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका अराफात मिनहासले तीन, उबैद शाह र अहमद हुसैनले दुई-दुई तथा अली असफन्ड, खुबैब खलिल र मोहम्मद जिशनले एक-एक विकेट लिए ।

प्रतियोगितामा यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

नेपालले अब शुक्रबार समूह ‘डी’ को अन्तिम खेलमा अफगानिस्तानसँग खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...