काठमाडौँ, २२ पुस । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभाका चुनावका लागि ६ जना उम्मेदवारको टुंगो लगाएको छ । राष्ट्रियसभाका १९ सिटमा चुनाव हुने छ भने माओवादीले ६ सिट भाग पाएको छ ।
आइतबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो । माओवादीले कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशबाट झक्कु सुवेदी, कर्णाली प्रदेशबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशबाट रेणु चन्दको नाम टुंगो लगाएको हो ।
२३ पुसमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता हुँदै छ भने ११ माघमा चुनाव हुने छ ।
अहिले उम्मेदवार बन्न लागेका सुवेदी गत वर्ष ४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा पराजित भएका थिए । उनी काठमाडौं ६ मा रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए । सत्ता गठबन्धन मिलेर चुनावमा जाने भएकाले माओवादीले उठाउने सबै उम्मेदवारले जित्ने सम्भावना छ ।