काठमाडौँ, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटको शैली परिवर्तन गर्ने बताएका छन् ।
आफ्नो एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक कार्यक्रमका क्रममा देशवासीका नाममा सम्बोधन क्रममा प्रधानमन्त्री दाहालले पुरातन शैलीको नीति तथा कार्यक्रमले नतिजा दिन नसकेको स्वीकार गर्दै अब नयाँ शैली अपनाइने बताए ।
“बजेट निर्माणको परम्परागत तरिकाले एकातिर प्राथमिकताप्राप्त आयोजनामा बजेट विनियोजन हुन सकेन भने अर्कोतिर खर्चको सही आकलन पनि हुन सकेन, यसको प्रत्यक्ष असर पुँजीगत खर्चमा परी समग्र आर्थिक क्षेत्र नै प्रभावित भयो”, प्रधानमन्त्री प्रचण्डले भने, “यस वर्षदेखि नीति, योजना र बजेट निर्माणको परिपाटी फेरेर नयाँ तरिकाले जाने तयारीमा छु, हाम्रो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रणालीलाई परम्परागत धारबाट भिन्न बनाउनै पर्दछ ।”
आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता यही फागुनमा सार्वजनिक गर्ने तयारी सरकारले गरिरहेको पनि उनले बताए । बजेटको सिद्धान्त र प्राथमिकता समयमै सार्वजनिक गरेर त्यसमाथि जनप्रतिनिधि तथा आम नागरिकको सुझाव लिइने पनि उनको भनाइ छ ।
बजेट निर्माणको परम्परागत तरिका भत्काउने उद्घोष गर्दै प्रधानमन्त्री प्रचण्डले दुई अङ्कको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नेगरी नीतिगत, संरचनागत र कानुनी सुधारका काम सरकारले गर्ने पनि उनले स्पष्ट पारे । गत वर्षको तुलनामा उपभोक्ता मूल्यवृद्धि घटेको उनको भनाइ छ ।