एक्लै चुनाव लडेमात्र बलियो पार्टी बन्छ : शेखर कोइराला

34

काठमाडौँ, २३ मङ्सिर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताएका छन् ।

चितवन–काठमाडौँ प्रजातान्त्रिक संगमको ३३औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको आज उद्घाटन गर्दै पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाझ जानुपर्ने बताए । “देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो । कांग्रेस परिवर्तन नभइ मुलुक परिवर्तन हुन सक्दैन । कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ,” उनले भने । उनले नेपालमा प्रजातान्त्रिक आन्दोलनमा चितवनको महत्त्वपूर्ण भूमिको रहेको बताए ।

“केही समयदेखि चितवन प्रजातान्त्रिक आन्दोलनभन्दा अलग बाटोबाट हिँडिरहेको छ । यो कांग्रेसकै केन्द्रीय नेतृत्वका कारण भएको हो । यसको नतिजा चितवनमा कांग्रेसको संगठन कमजोर हुँदै गएको छ । यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्छ,” कोइरालाले भने । यहाँका क्षेत्र, पालिका, वडामात्र नभइ टोलमा समेत व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी संगठन कमजोर हुँदै गएको उनको भनाइ थियो ।

डा.कोइरालाले कांग्रेस एक्लै चुनाव लडेमात्र बलियो पार्टी बन्ने बताए । “जबसम्म हामी एक्लै चुनाव लड्न सक्दैन तबसम्म पर्टी झन्झन् कमजोर हुँदै जान्छौँ,” उनले भने । नेता कोइरालाले देशको आर्थिकस्थिति विदेशीसँग ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...