काठमाडौँ, १५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार कुनै पनि बेला आफैँ ढल्न सक्ने दाबी गरेका छन् ।
‘समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत डडेलधुरामा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकार गठबन्धनको छेस्काले अड्याएको भएर कुनै पनि बेला आफैँ ढल्न सक्ने बताएका हुन् ।
उनले भने,“हामीले अहिले मिसन ८४ भनिरहेका छौँ । यही बीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिाराखेको छ । तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौँ । यो सरकार आफैँ ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्का अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन ।”
सरकार माओवादी नीतिमा प्रचण्ड पथमा हिँड्न खोजेको ओलीले टिप्पणी गरे । उनले भने, “कांग्रेस प्रचण्डपथको भरिया बनेको छ । आफ्नै मान्छेलाई मुद्दा लगाएर थुन्दिएको छ । हो होइन अदालतले भन्ला ।”
नेपाली जनताका बीचमा द्वन्द्व मच्याउन खोज्नेहरूले सक्रिय भएर आतंककारी गतिविधि गरिरहेको अध्यक्ष ओलीले बताए ।