गैँडाको खाग तस्करीको आरोपमा ८ जना पक्राउ

26

चितवन, १५ मंसिर । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बिहीबार राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।

विभागमा रहेको केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको समन्वयमा नेपाली सेना, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र चितवन राष्ट्रिय निकञ्जको संलग्नतामा एकीकृत अपरेसन सञ्चालन गरी उनीहरूलाई पक्राउ गरिएको हो ।

विभागका महानिर्देशक डा.सिन्धुप्रसाद ढुंगानाका अनुसार पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खाती रहेको छन् । उनलाई मंसिर ९ गते चितवनको राप्ती नगरपालिका–६ बाट पक्राउ गरिएको हो । उनी गैँडाको खाग बिक्री वितरण गर्ने मुख्य योजनाकार रहेको महानिर्देशक ढुंगानाले बताए ।

चितवनको राप्ती नगरपालिका–११ ठाकलटार बस्ने ४२ वर्षीय पासाङ भन्ने आइतेसिंह मोक्तान रहेका छन् । उनलाई सोही दिन राप्ती नगरपालिका–६ बाट पक्राउ गरिएको हो । उनी गैँडा मार्ने शिकारी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गैँडाको खाग बिक्री वितरणमा सहयोग गर्ने मकवानपुर राक्सिराङ गाउँपालिका–९ घर भइ हाल हेटौँडा उपमहानगरपालिका–४ बस्ने ४४ वर्षीय शमशेर थिङ पक्राउ परेका छन् । उनीसमेत राप्ती नगरपालिका–६ बाट पक्राउ परेका हुन् ।

गैँडा मारी खागको बिक्री गर्ने मुख्य योजनाकारका रूपमा मनहरी गाउँपालिका–६ का ५६ वर्षीय थिङ बाजे भन्ने सीताराम थिङलाई पनि सोही दिन सोही क्षेत्रबाट पक्राउ गरेको ढुंगानाले जानकारी दिए । खाग बिक्री वितरणमा सहयोग गरेको अभियोगमा रोल्पाको सुनछहारी गाउँपालिका–६ फगाम घर भइ हाल हेटौँडा उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय अर्जुन रोका पक्राउ परेका छन् । उनलाई पनि राप्ती–६ बाट नै मंसिर ९ गते पक्राउ गरिएको हो ।

सोही अभियोगमा गोरखा बारपाक घर भइ भरतपुर महानगरपालिका–११ लामा टोल बस्ने ७७ वर्षीय घले भन्ने धन बहादुर गुरूङलाई अन्यसँगै राप्तीबाटै पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै, राप्ती नगरपालिका–५ बाट मंसिर ११ गते गैँडा मार्ने शिकारीको अभियोगमा चितवनको राप्ती नगरपालिका–११ थाकलटार बस्ने ४० वर्षीय उन बहादुर स्याङ्तानलाई पक्राउ गरिएको छ । सोही दिन मकवानपुरको मनहरी नगरपालिका–७ ज्यामिरे घर भइ हाल चितवनको माडी नगरपालिका–९ बाँदरझुला बस्ने ५६ वर्षीय स्याङ्बो भन्ने इन्द्र बहादुर तामाङलाई पक्राउ गरेर सार्वजनिक गरिएको हो ।

पक्राउ परेकाको साथबाट दुई थान गैँडाको खाग, भरूवा बन्दुक एक थान, बिँड नभएको बञ्चरो एक थान, कालो झोला, चक्कु, भरूवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, गुलेली, टर्च लाइट, डिक्ची, पटका बारूद। दुई थान मोटरसाइकललगायतका सामग्री बरामद गरिएको छ ।

गएको कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रस्थित कोर इलाकामा दुई वटा पोथी गैँडालाई खाडल खनी मारेर खाग लगेको अवस्थामा भेटिएका थिए । उक्त घटनाको अध्ययन गरी सुझाव पेस गर्न वन तथा वातावरण मन्त्रालयबाट मंसिर १ गते विभागका उपमहानिर्देशक वेदबहादुर ढकालको संयोजकत्वमा नेपाली सेना, सिआइबीका प्रतिनिधि, कानुन अधिकृतसहितको ५ सदस्यीय छानबिन टोली गठन भइ स्थलगत अध्ययन अनुसन्धानपश्चात् तयार भएको छानबिन प्रतिवेदन विभागमा बुझाइएको छ ।

पत्रकार सम्मेलनमा ढुंगानाले प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लगिने प्रतिबद्धता व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...