पाँचखपनका २६ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

54

खाँदबारी, १४ मंसिर । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा २६ सुकुमबासी परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग सङ्खुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भूमिहीन दलित तथा सुकुमबासीलाई जग्गा उपलब्ध गराएको राष्ट्रिय भूमि आयोग सङ्खुवासभाका अध्यक्ष शंकरमान कँडेलले जानकारी दिए ।

नगर कार्यपालिकाको बैठकले २८ जनाको नाम सिफारिस गरेर पठाएकामा दुई जनाको विवरणमाथि थप अध्ययन गर्नुपर्ने भएकाले हाललाई २६ जनालाई मात्र प्रमाणपत्र वितरण गरिएको पाँचखपन नगरपालिका नगरप्रमुख विपिन राईले बताए । पाँचखपन नगरपालिकाको वाना बजारबाट सभापोखरी गाउँपालिका जाने मुख्य सडक किनारको जग्गा उनीहरूलाई उपलब्ध गराइएको हो ।

भूमिहीन तथा सुकुमबासी यसअघि आफन्त तथा गाउँलेको जमिनमा आश्रय लिएर बस्दै आएका थिए । अहिले भने उनीहरू करेसाबारीसहित एक घर अट्ने जमिन पाएका छन् । यसरी प्राप्त भएको जमिन कम्तीमा १० वर्षसम्म बिक्री गर्न नपाउने र त्यसपछि पनि भूमिहीन हुने गरी बेच्न नपाउने व्यवस्था गरिएको भूमि आयोग सङ्खुवासभाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...