नातिको लाठी प्रहारबाट हजुरबुबाको मृत्यु

37

पर्सा, ११ मंसिर । पर्साको ठोरी गाउँपालिकामा नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ । छोरीका छोरा (नाति) ३६ वर्षीय कृष्ण बहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो ।

छिमेकीको घरमा नाति कृष्णले कोदो चुटिरहेका बेला हजुरबुबा पनि त्यहाँ पुगेका थिए । उनले नातिलाई ‘तिमी छाडिदेऊ म चुट्छु’ भन्दा आवेगमा आएका कृष्णले हजुरबुबा लक्ष्मणमाथि लाठी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

लाठी प्रहारबाट लक्ष्मण बेहोस भएर ढलेका थिए । टाउकोमा गम्भीर चोट लागेर अचेत भएपछि उनलाई उपचारका लागि ठोरी–२ स्थित स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

कृष्णलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । लक्ष्मणको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...