राजतन्त्र फर्काउने सपना नदेखे हुन्छ : ओली

22

काठमाडौँ, ८ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले फ्याकेको राजतन्त्र फर्काउने प्रयास मुर्खताबाहेक केही नभएको टिप्पणी गरेका छन् ।

एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले वाक्क दिक्क भएर १५ वर्षअघि फ्याकेको राजतन्त्र फर्काउने प्रयास चेतना नभएको मुर्खता भएको टिप्पणी गरेका हुन् ।

“केही तत्वहरू १५ वर्षअघि फालिसकेको, हेर्दाहेर्दा वाक्कदिक्क भएर जनताले पाल्न नसकिने रहेछ । काम लाग्ने चिजै रहेनछ भन्दै फालेको राजतन्त्र फर्काउने कुरा गर्दैछन्,” उनले भने, “चेतना नै नभएका मान्छेहरूले राजतन्त्रको कुरा गर्छन् । नागरिक सर्वोच्चता स्वीकार गर्न नसक्ने, देशभरिका जनतामा सार्वभौमसत्ता भनेर मान्न नसक्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने त्यो चेतना मूर्खता हो,” उनले भने ।

मरेको प्रेतका पछाडि नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भन्नु मुर्खता सिवाय केही नभएको ओलीको टिप्पणी छ ।

अध्यक्ष ओलीले जतिसुकै बेला परिवर्तनका लागि आन्दोलन गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै त्यसका लागि युवा संघलाई तयार रहनसमेत निर्देशन दिए ।

अहिलेको गठबन्धन सरकारकै कारण परिवर्तन विरोधी सलबलाउन थालेकोसमेत ओलीको आरोप छ ।

Share This:
सम्बन्धित खबर
Loading...