दाङमा दाजुभाइ मृत फेला
तुलसीपुर, ५ मंसिर । दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ हाल तुलसीपुर उपमहानगरपालिका–६ गाईडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्ण बहादुर बस्नेत र भाइ ३० वर्षीय टेक बहादुर बस्नेत मृत फेला परेका हुन् ।
उनीहरू बस्ने घरमा घरबेटी बस्दैनथे । मृतक पूर्ण बहादुर परिवारका साइला र टेक बहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।
मृतक टेक बहादुरकी श्रीमती रूकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ । मंगलबार मात्रै शव निकालेर परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलको भनाइ छ ।