दमौली, १ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताएका छन् ।
तनहुँको आँबुखैरेनी अस्पतालको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “संविधानले परिकल्पना गरेको सबै अधिकार तल्लोतहसम्म पुर्याउँछौँ, अधिकार नपुग्दै संघीयता असफल भयो भन्न हुन्न ।”
प्रधानमन्त्री प्रचण्डले संविधानलाई संस्थागत गर्ने प्रक्रिया चलिरहेको बताउँदै संघीयता जनताको हितमा छ भन्ने प्रमाणित गरिने उल्लेख गरे । उनले भने, “संघीयताको बारेमा अरूलेभन्दा मैले बढी बुझेको छु भन्ने मेरो दाबी छ । संघीयतालाई बलियो बनाउनेतर्फ म क्रियाशील छु ।”
प्रदेश सरकार बलियो बनाउन प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन आवश्यक भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “यी ऐन भए मात्रै प्रदेश सरकार बलियो हुन्छ, नत्र बलियो हुँदैन । प्रदेश सरकार भएको अनुभूति जनतालाई दिलाउन सकिएन भने प्रदेशको महत्त्वबारे बुझाउन सकिँदैन ।”