जाजरकोट भूकम्प : रुकुम पश्चिममा उद्धार सकियो, ५२ जनाको मृत्यु

111

रुकुम पश्चिम, १९ कात्तिक । रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ । शुक्रबार रातिदेखि सुरु भएको उद्धार शनिबार साँझ सकिएको हो ।

भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।

निरीक्षकक खड्काका अनुसार ५२ जनाको शव परीक्षणपश्चात परिवारलाई हस्तान्तरण गरिने छ । भैँचालोबाट अधिक प्रभावित आठबीसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० गरेर ५२ जनाको मृत्यु भएको हो । घाइते भएका १७४ जनाको अस्पतालबाट घर फर्केका छन् ।

भूकम्पबाट घाइते भएका २७ जनाको हेलिकोप्टरबाट उद्धार गरी नेपालगञ्ज, प्रादेशिक अस्पताल सुर्खेत र काठमाडौँ पठाएको थियो । अन्य २६ जनाको भने जिल्ला अस्पताल सल्ले र नगर अस्पताल राडीमा उपचार चलिरहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

आठबीसकोट नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ र सानीभेरी गाउँपालिका–२ मा ठुलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि क्षति भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...