भूकम्प अपडेट : जाजरकोटमा ३७ को मृत्यु, सयौँ घाइते

40

जाजरकोट, १८ कात्तिक । गएराति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । उनका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् ।

उनका अनुसार भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्‍याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भएलगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अंगहरु परिचालन भएको प्रजिअ सुनारले बताए ।

जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उनको भनाइ छ ।

रातिको समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...