विष्णु पौडेललाई वर्षमानको जबाफ– तपाईं उपप्रधानमन्त्री भएकै बेला जनयुद्ध दिवस मनाउने निर्णय गरिएको हो

15

काठमाडौँ, १६ कात्तिक । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले नेकपा (एमाले) सरकारमा भएका बेला नै फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय भएको बताएका छन् ।

एमाले नेता विष्णु पौडेल उपप्रधानमन्त्री रहेको बेला मन्त्रिपरिषद्ले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको उनले बताए ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा पौडेलले फागुन १ गतेदेखि मुलुकमा हिंसा सुरू भएकाले यसलाई दिवसका रूपमा मनाउन नमिल्ने बताएका थिए । पौडेलले जनयुद्ध दिवस मनाउने निर्णय गरेर गठबन्धन बनेको र नेपाली कांग्रेस पनि त्यसैमा सहभागी भएको टिप्पणी गरेका थिए ।

उनीपछि बोलेका माओवादीका उपमहासचिवसमेत रहेका पुनले नेताहरूले संस्कार र संस्कृति सुधार गर्नुपर्ने बताउँदै जनयुद्ध दिवस मनाउने निर्णय विष्णु पौडेल उपप्रधानमन्त्री रहेको मन्त्रिपरिषद्ले गरेको स्मरण गराएका थिए ।

“माघ १९ गते त्यो निर्णय भएको रहेछ । पूर्ववक्ता माननीयज्यू त्यतिबेला उपप्रधानमन्त्री हुनुहुँदो रहेछ । त्यही क्याबिनेटले गरेको रहेछ,” उनले भने, “हामी आफैँ गर्ने अर्को ठाउँमा जाँदा त्यही फेरि अर्कै हुने कसरी हुन्छ ?”

उनले संक्रमणकालीन विधेयश संसद्को कानुन तथा मानव अधिकार समितिमा छलफलमा रहेको जानकारी दिँदै विधेयक राष्ट्रिय सहमतिबाट पारित हुने बताए ।

सदनको कार्यकालको समीक्षा गर्दा संसद्ले केही प्रयत्न गरेको उल्लेख गर्दै उनले यस अवधिमा कानुन निर्माणका क्रममा मिटरब्याजसम्बन्धी महत्त्वपूर्ण कानुन बनाएको अवगत गराए । समितिमा विभिन्न २२ वटा विधेयक छलफल भइरहेको बताउँदै उनले संसद्लाई प्रभावकारी बनाउन सबैको भूमिका आवश्यक पर्नेमा जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...