नेपाल ओमनसँग पराजित

72

काठमाडौँ, १६ कात्तिक । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल ओमानसँग पराजित भएको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएको हो ।

ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपाल १४० रनमा समेटियो । नेपालले पावरप्लेको ६ ओभर सकिँदा महत्त्वपूर्ण ३ विकेट गुमाएको थियो ।

नेपालका ओपनिङ ब्याटर आसिफ शेख ५ रनमा आउट हुँदा त्यसपछि मैदानमा आएका सोमपाल कामी १२ रन बनाएर आउट भए । यस्तै, छैटौँ ओभरको अन्तिम बलमा कुशल भुर्तेल २६ रनमा मेहरान खानबाट बोल्ड भए ।

त्यसपछि पनि नेपालको विकेट जाने क्रम रोकिएन । नेपालका कप्तान रोहित पौडेल पनि १२ रन बनाएर आउट हुँदा नेपालले ९ ओभरमा ४ विकेट गुमायो ।

नेपालले पाँचौँ विकेटको रूपमा कुशल मल्ललाई १० रनमा गुमायो भने गुल्सन झा ३ रनमा आउट भए । यस्तै, सातौ विकेटको रूपमा सन्दीप जोरा १५औँ ओभरमा १२ रनमा आउट भएका थिए ।

नेपाललाई अन्तिम बलमा २६ रन चाहिएको बेलामा विवेक यादवले ओमानका विलाल खानलाई सुरूवाती ३ बलमा ३ छक्का हिर्काएका थिए । चौथो बलमा विवेक आउट हुँदा पाँचौँ बलमा अभिनाश बोहराले १ रन लिए । अन्तिम बलमा छक्का चाहिएको स्थितिमा करण केसी क्याच आउट भए ।

आइसिसी टी–२० विश्वकप छनोटमा नेपाल समूह ‘ए’को उपविजेतामै सीमित भएको छ । अब नेपालले सेमिफाइनलमा समूह ‘बी’को विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।

ओमानका लागि जिशान मकसुदले २६ बलमा १ चौका र ३ छक्कासहित ३२ रन बनाए । यस्तै, नसिम खुसीले २४, सकिल अहमदले २२ तथा आयान खानले १८ रन बनाए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए । त्यस्तै, गुलशन झा र अविनाश बोहोराले एक–एक विकेट हात पारे ।

Share This:
सम्बन्धित खबर
Loading...