राष्ट्रपतिले आममाफी दिएका व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

22

काठमाडौँ, १५ कात्तिक । गत जेठ १४ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कैदमुक्त भएका एक व्यक्ति अपहरण ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोराको हत्या तथा अपहरण गर्ने धम्की दिइ २५ लाख रूपैयाँ फिरौती माग गर्ने ५५ वर्षीय रामचन्द्र थापा पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले सोमबार साँझ ५:४० बजे भरतपुर महानगरपालिका–१० मालपोत चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

थापाले अपरिचित मोबाइल नम्बरबाट सुवेदीलाई कात्तिक ८ गतेदेखि बारम्बार फोन गरी हिन्दी भाषाको प्रयोग गर्दै धम्की दिने गरेका थिए । २५ लाख रूपैयाँ माग गर्दै उनले अन्याथा सुवेदीको हत्या गर्ने र उनका बालक छोराको अपहरण गर्ने धम्की दिएका थिए ।

कार्यालयका प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहको कमाण्डमा विशेष प्रहरी टोली परिचालन गरी पक्राउ गरिएको पण्डितले जानकारी दिए । पक्राउ परेका थापा चोरी, अवैध हातहतियार देखाइ डाँका, लागुऔषधलगायतका मुद्दामा संलग्न भएको पण्डितले बताए ।

थापा यसअघि पटक पटक कैदको सजाय पाएका व्यक्ति हुन् । पछिल्लो पटक २०७५ मंसिर १३ गते उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा डाँकासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो ।

उक्त मुद्दामा चितवन जिल्ला अदालतले उनलाई ९ वर्षको कैद सजाय तोकेको थियो । राष्ट्रपतिबाट आममाफी पाएको ५ महिनामै उनी अर्को आरोपमा पक्राउ परेका हुन् ।

थापालाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया सुरू गरिएको डिएसपी पण्डितले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...