काठमाडौँ, १४ कात्तिक । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रूपैयाँले घटाइएको जनाएको छ ।
घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोल र खाना पकाउने ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।
निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवम् हालसालै लागु भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागु हुने छ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई ३ वर्गमा विभाजन गरेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब डिजेल र मट्टितेल १६१ रूपैयाँ ५० पैसा पर्ने छ ।
त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब डिजेल र मट्टितेल १६३ रूपैयाँ पर्ने छ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब डिजेल र मट्टितेल १६४ रूपैयाँ पर्ने छ ।