बारा, १२ कात्तिक । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ मा शनिबार राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
वीरगञ्जको नगवाबाट पिकनिकका लागि गएको ना७ख ४७४९ नम्बरको बस चितवनको जलबिरे झरनामा पिकनिक मनाएर फर्कने क्रममा सिमराको मुख्य चोकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । बस दुर्घटना हुँदा ४० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
तीव्र गतिमा रहेको बस स्कुटरलाई बचाउन खोज्दा गाडी अनियन्त्रित भएर सिमरास्थित राष्टिय वाणिज्य बैंकको भवनमा ठोक्किन पुगेको थियो । दुर्घटनामा करिब २५ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।
उक्त बसमा ५१ जना सवार थिए । त्यसमध्ये १२ जना महिला रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकाहरूको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।