काठमाडौँ, ११ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरूलाई पराजित गर्ने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ दलका रूपमा २१ जना सांसद सदनमा आउँदासमेत कुनै पनि राजनीतिक दलहरूले जनताका लागि काम नगरेको बताए ।
उनले दिन दहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिन मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्न सक्छौँ गर भन्ने चुनौती दिएको बताए । उनले आउने चुनावमा कुनै पनि दललाई एक पनि जित्न नदिने बताए ।
“हाम्रो आँखै अगाडि नयाँ दलका रूपमा २१ जना सांसदहरू सदनमा आएका छन् । स्थानीय तहमा एक सय होनहार मानिसहरू आएका छन् । तैपनि दिनडहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ल के गर्न सक्छौँ ? आएर भनेर हामीलाई चुनौती दिए ठाडैँ । हेर्दाहेर्दै, यस्ता कयौँ बेथितिका चुनौतीहरू दिएका छन् । भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्र्सिएर बन्द गरेका छन्,” उनले भने, “तपाईंहरूको आवाज त्यति सुनिएन भनेर कहिले कहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । केमा दिने, कति दरो बोल्ने, के भन्ने ? अब ठुलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने । एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला ।”