माओवादी घटक दलहरूबीचको एकता अवश्यक : प्रधानमन्त्री प्रचण्ड

24

रूकुम, ९ कात्तिक । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सुरू गरेको ३ महिने विशेष रूपान्तरण अभियान माओवादी घटक दलहरूबीचको एकताको अभियान पनि रहेको बताएका छन् ।

रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्मामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका दलहरूका बीच एकता आवश्यक रहेको बताए । “हामी ठुलो पार्टीको रूपमा उदाएका थियौँ । विडम्बना हामी सबै फरक–फरक बाटोतिर लाग्यौँ । हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिवद्धता जनता सामु गरेका थियौँ, त्यो प्रतिवद्धता भुल्दै साथीहरू फरक बाटोतिर लाग्नुभयो । शान्ति प्रक्रियापछि उहाँहरूलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो,” उनले भने ।

केही साथीहरू फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनको भनाइ थियो । “हामी माओवादी शक्तिहरू पुनः एक हुनुपर्ने बेला आएको छ । हामीले समाजवादी मोर्चा नै बनाएका छौँ । त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ । समाजवादी मोर्चाको एउटा अभियान छ । हाम्रो पार्टीको एउटा अभियान छ । यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरूको एकता हो,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार ५ वर्ष नै टिक्ने दाबी गरे । सरकार ढाल्न र गठबन्धन फुटाउनतर्फ केही दल लागिपरेको उनले आरोप लगाए ।

Share This:
सम्बन्धित खबर
Loading...