शान्ति र आपसी सद्‌भावका लागि विजयादशमीले सबैलाई प्रेरणा देओस् : पूर्वअध्यक्ष रेग्मी

14

काठमाडाैँ, ७ कात्तिक । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सद्‌भावपूर्ण नेपाली परम्परा, आपसी प्रेम र भ्रातृत्व भाव कायम राख्दै बढ्नु आजको आवश्यकता भएको बताएका छन् ।

बडादसैँका अवसरमा आज शुभकामना दिँदै उनले दुःखमा धैर्य र अभावमा पनि खुसी देखिन सक्नु नेपाली समाजको स्वभाव एवम् चरित्र भएकाले महँगी र गरिबीमा पनि गच्छेअनुसारको आर्थिक र सामाजिक व्यवहार गर्दै खुसियालीका साथ विजयादशमी मनाउन आग्रह गरेका हुन् ।

पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भनेका छन्, “बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाजमा विशेष चाडका रूपमा विजयादशमी हर्षोल्लासका साथ मनाइन्छ यस अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।”

उनले धार्मिक, सहिष्णुता, जातीय सहअस्तित्व र साम्प्रदायिक सुसम्बन्ध उदाहरणीय रूपमा रहेको नेपाली समाजमा केही अलमल र खलबलका संकेत देखा पर्नु वाञ्छनीय नभएको उल्लेख गरेका छन् ।

सन्देशमा पूर्वअध्यक्ष रेग्मीले विजयादशमीले शान्ति, समृद्धि, आपसी सद्‌भाव, सांस्कृतिक सहिष्णुता, सहकार्य र एकता अभिवृद्धि गर्न सबैलाई प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...