काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली सेनाको सांगठानिक नियम परिवर्तन गरेर माओवादीका पूर्वलडाकुसमेत रहेका सहायक रथी यामबहादुर अधिकारी ‘प्रतिक’को म्याद थपिएकोमा असन्तुष्टि जनाएका छन् ।
नेता कोइरालाले सामाजिक सञ्जालमार्फत् यस्तो असन्तुष्टि जनाएका हुन् । नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरूपयोग गर्ने चलखेल भएकोसमेत उनले आरोप लगाएका छन् ।
सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने भन्दै कोइरालाले यस्तो निर्णय आफूहरूलाई मान्य नभएको पनि बताए ।
“नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन,” आइतबार बिहान उनले ट्विट गर्दै भनेका छन्, “सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस् ।”
यहि असोज १ गतेदेखि अवकाशमा जानुपर्ने अधिकारीको म्याद सरकारले केही समयअघि थप गरेको थियो ।
२०७६ मै ४ वर्षको म्याद थपिएका अधिकारीको सेवा अवधि सरकारले फेरि असोज १ गतेदेखि ३ वर्षका लागि थप गरेपछि सत्ता साझेदार दल कांग्रेसका केही नेता असन्तुष्ट देखिएका छन् ।