काठमाडौँ, २७ असोज । कोशी प्रदेश खारेजीको माग गर्दै चलिरहेको आन्दोलनका क्रममा पक्राउ परेका पहिचानवादी नेतारकार्यकर्ताहरूलाई बिनासर्त रिहाई गर्न पहिचान पक्षधर संघसंस्थाहरूले माग गरेका छन् ।
प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, नेपाल आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाहरूले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि (आइतबार)सम्म पक्राउ परेका ३ जना पहिचान पक्षधर नेतारकार्यकर्तालाई नछाडेमा धनकुटा बन्दलगायतका आन्दोलनका कार्यक्रम गरिने उल्लेख गरेको छ ।
गत बिहीबार झुठा आरोपमा धनुकटाको चौबिसेस्थित घरबाटै पहिचानवादी नेता मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले बिना अभियोग, अदालतको आदेश वा कुनै जानकारी बिना नै व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार र गोपनीयताको अधिकार समेतको उल्लंघन गर्दै घरबाटै अपहरण शैलीमा पक्राउ गरेको उल्लेख गरिएको छ ।
पक्राउ परेका तीनै जनालाई तत्काल छाडेर सोही दिन नै विज्ञप्तिमार्फत् प्रशासनलाई जानकारी गराइएको र संयुक्त संघर्ष समितिले निरन्तर पहल गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । तर, हालसम्म रिहाइ नभएको भन्दै असोज आइतबारसम्म बिनासर्त नछाडेका असोज २९ गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गरिने उल्लेख गरिएको छ ।
सोहीक्रममा आज संयुक्त संघर्ष समितिले इलाका प्रहरी कार्यालय राजारानी घेराउ तथा धनकुटा बन्दबारे प्रचारप्रसार गरेको छ । त्यस्तै, असोज २८ गते धनकुटामा विरोध कार्यक्रम गरिने, २९ गते सुनसरीको धरान–भेडेटार, बराहक्षेत्र, मोरङको लेटाङ सिंहदेवी हुँदै बुधबारे, पाँचथरको ६ नम्बर बुधबारे–रबि, तेह्रथुम भोजपुरबाट आउने सम्पूर्ण नाका बन्द गर्ने जनाएको छ ।
त्यस्तै, विज्ञप्तिमा रिहाइ नगरेमा असोज ३० गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गरिने उल्लेख गरिएको छ ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, पहिचान सहितको प्रदेश १ नम्बर पुनः नामांकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले संयुक्त रुपमा विज्ञप्ति जारी गरी पक्राउ परेका तीनै जना पहिचान पक्षधर नेतारकार्यकर्तालाई यथाशिघ्र बिनासर्त रिहाई गर्न माग गरेका हुन् ।
