गैरीगाउँ सामूहिक हत्या प्रकरणका अभियुक्त भण्डारी कारागार चलान

37

काठमाडौँ, २६ असोज । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँको दिव्य सःमिलमा गत भदौ २९ गते भएको ४ जनाको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालत काठमाडौँले आज भएको थुनछेक बहसपछि भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएका २३ वर्षीय भण्डारीलाई प्रहरीले घटनाको २ दिनपछि ३२ भदौमा पक्राउ गरेको थियो ।

काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया सुभद्रा भुजेर र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगान भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।

प्रहरीसँगको बयानमा उनले मोटरसाइकलले ठक्कर दिई फरार भएपछि त्यसको बदला लिन एक व्यक्तिको हत्या गर्ने योजना बनाएको, तर घटना गराउँदा घटनास्थलमा आइपुगेकाले अन्य ३ जनाको खुकुरी प्रहरी गरी हत्या गरेको स्वीकारेका छन् ।

बहिराहरूप्रति गरिने सामाजिक विभेदका कारण आफूले हत्या गरेको सञ्जयले बयानमा बताएका छन् । उनी पनि जन्मजात बोल्न र सुन्न सक्दैनन् । घटनापछि बयानका लागि दोभाषेका रूपमा प्रहरीले राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केदारप्रसाद अधिकारी र जनक पौडेललाई बोलाइएको थियो ।

तीन जिल्लाका ९ ठाउँमा मान्छे मारेको छु : भण्डारी
तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीले आफूले काठमाडौँमा मात्र नभइ काठमाडौँ बाहिरका जिल्लामा पनि मानिसहरूको हत्या गरेको दाबी गरेका छन् ।

शुक्रबार सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा उनीविरूद्ध दायर गरेको मुद्दाको अभियोगपत्रमा सञ्जयले काठमाडौँ, भक्तपुर र सिन्धुपाल्चोकका ९ स्थानमा धारिलो हतियार प्रहार गरी मानिसहरूको हत्या गरेको बताएको उल्लेख छ ।

“काठमाडौको रातोपुल, धुम्बराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा धारिलो हतियार प्रहार गरी हत्या गरेको छु,” उनले बयानमा भनेका छन्, “मैले मारेको मान्छेहरूलाई चिन्दिनँ । सबैलाई धारिलो हतियार प्रयोग गरी मारेको छु । अनुसन्धान गर्ने काम प्रहरीको हो ।”

सम्बन्धित समाचार

गैरीगाउँ हत्या प्रकरण : सञ्जयलाई जन्मकैदको मागदाबीसहित प्रतिवेदन पेश

गैरीगाउँ हत्याकाण्डका आरोपीले दिए प्रहरीनै चकित पार्ने बयान

यसरी भएको थियो गैरीगाउँमा ४ जनाको सामूहिक हत्या

Share This:
सम्बन्धित खबर
Loading...