गैरीगाउँ हत्याकाण्डका आरोपीले दिए प्रहरीनै चकित पार्ने बयान

108

काठमाडौँ, १६ असोज । काठमाडौँको गैरीगाउँमा ४ जनको सामूहिक हत्या गरेको आरोप लागेका २३ वर्षीय सिन्धुपाल्चोकका सञ्जय भण्डारीले अनुसन्धान अधिकृत सामु कम्तीमा थप ६ जनाको हत्यामा संलग्न रहेको दाबी गरेका छन् । जन्मजात बोल्न नसक्ने ती आरोपीलाई प्रहरीले बहिरा संघका अधिकारी र दोभाषे अगाडि राखेर सोधपुछ गरिरहेको छ ।

अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्, “बोल्न नसक्ने भएपछि युवक निकै चलाख देखिन्छन् । अनेक कुराहरू गरेर अलमलमा पारिरहेका छन् ।” ती अधिकारीका अनुसार सञ्जयले काठमाडौँ, ललितपुर र सिन्धुपाल्चोकमा पनि मान्छे मारेको बताएका छन् ।

“उनले एउटा घटनास्थलबारे हामीलाई भनेको कुराहरू केही मिलेको छ । त्यहाँ बुझ्दा मान्छेको हत्या भएको पनि देखिन्छ । तर, मारिएका मान्छेबारे अरू केही नभएकाले पुष्टि गर्न गाह्रो छ । उनले बोलेका ठाउँमा शंका गर्नेहरू चाहिँ छन्,” उनले भने ।

काठमाडौँको रातोपुल र बालुवाटार क्षेत्रमा आफूले दुई जनाको हत्या गरेको सञ्जयले सोधपुछका क्रममा बताएका थिए । अनुसन्धानका क्रममा ती ठाउँमा मानिस केही समय पहिला मृत भेटिएको पनि पाइएको छ । उनले केहीलाई मारेर गाडेको पनि बताएका छन् । “पत्याउनु हुन्न भने ती ठाउँमा खनेर हेर्नुस्,” उनले प्रहरीलाई भन्ने गरेका छन् । पटक–पटक सनसनीपूर्ण बयान दिन थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौका अनुसन्धान अधिकृतहरूसमेत हैरान बनेका छन् ।

भण्डारीले राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केदारप्रसाद अधिकारीको उपस्थितिमा अन्यत्र पनि आफूले विभिन्न व्यक्तिको हत्या गरेको बताएको प्रहरी स्रोतले जनाएको छ ।

सुरूमा बयान दिँदा मिडियामा पढेका विषयलाई लिएर प्रहरीलाई हैरान पार्न मात्रै भनेको हुनसक्ने अनुसन्धान अधिकृतहरूको आशंका थियो । तर, जब बाहिर आउँदै नआएका केही विषयहरू पनि बताउन थाले, प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । उनको दाबीमाथि विस्तृत अनुसन्धान गर्नुपर्ने प्रशस्तै आधारहरू देखिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

स्रोतका अनुसार, त्यसक्रममा काठमाडौँ प्रहरीले केही पुराना घटनाका फाइलसमेत मगाएर अनुसन्धान गरिरहेको छ । २७ जेठ २०७८ मा बौद्धमा बोरामा भेटिएको खुट्टा र लकडाउनमा भक्तपुरको हनुमन्ते खोलामा भेटिएको टाउको बिनाको शव प्रकरणको फाइलसमेत प्रहरीले मगाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले पनि भण्डारीको बयानका आधारमा अरू घटनाहरूबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको बताउँछन् । आरोपित भण्डारीले भूकम्पका बेलामा सिन्धुपाल्चोकमा रहँदा आफूले केही महिलाको हत्या गरेको दाबी गरेका छन् ।

भण्डारीको बयानअनुसार प्रहरीले उनलाई काठमाडौँका विभिन्न ठाउँमा समेत लगेको छ । कतिपय स्थानमा अहिले घर बनिसकेको पाइएको छ । भक्तपुरको बोडेमा महिलाको हत्या गरेर खोलामा फ्याँकिदिएको उनले बयान दिएका छन् । यो घटना लकडाउनको समयमा भएको उनको दाबी छ ।

कोरोना महामारीविरूद्ध सरकारले २०७७ सालमा लकडाउन घोषणा गरेको पहिलो साता गठ्ठाघर र बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला किनारमा टाउको बिनाको शव भेटिएको थियो । त्यसबेला शवमा खुट्टा र हातको पञ्जा पनि काटिएको थियो भने हुलिया नखुल्दा अनुसन्धान अलपत्र परेको थियो । आसपास सिसिटिभी क्यामरा नहुँदा अनुसन्धान अघि बढ्न सकेको थिएन । फरेन्सिक विज्ञहरूले भने शवको प्रकृति हेरेर १७ देखि १९ वर्षको युवती हुनसक्ने आशंका गरेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरले यो घटनामा लामो समयसम्म अनुसन्धान गरेको थियो ।

तर, अनुसन्धानमा कुनै क्लु फेला परेन । बरू हराएका युवतीहरूमध्ये १०० बढी फेला परेका थिए । भण्डारीको बयानपछि प्रहरीले यो घटनाको फाइल पनि खोलेको छ । किनकी उनले टाउको बिनाको शव खोलामा फ्याँकेको बताएका थिए । बौद्धमा पनि आफूले एउटा शव टुक्राटुक्रा पारेर फ्यालिदिएको उनको दाबी छ । बौद्धको टाउन प्लानिङमा २५ जेठ २०७८ मा एउटा बोराभित्र मानिसको खुट्टा भेटिएको थियो । प्रहरीले लामो समयसम्म अनुसन्धान गरे पनि यसमा कुनै क्लु पाउन सकेको थिएन । पछि ‘तान्त्रिकले शंख बनाउनलाई आर्यघाटबाट उठाएर ल्याएको’ हुनसक्ने भन्दै अनुसन्धान बन्द भएको थियो ।

तीनकुने घटनामा पक्राउ परेका भण्डारीले भने त्यो खुट्टा पनि आफूले राखेको दाबी गर्दै बयान मात्र दिएनन्, सिसिटिभी फुटेज हेर्न प्रहरीलाई चुनौती दिएका छन् । भण्डारीको सनसनीपूर्ण बयानपछि प्रहरीले पहिलेको अनुसन्धान टोलीले राखेको सिसिटिभीको ‘हार्ड डिस्क’ मगाएको थियो । “त्यसमा तीन जना व्यक्ति देखिएका थिए, त्योमध्ये एक जना मै हुँ भन्छ,” अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, “तर, फुटेज राम्रोसँग बुझिने खालको छैन ।”

प्रहरीले उनलाई सिन्धुपाल्चोक लगेरसमेत हत्या गरेको स्थान देखाउन लगाउने तयारी गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...