काठमाडौँ, २६ असोज । राष्ट्रपति रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाले कोशीमा केदार कार्की पक्षबाट भएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले आफैँ फोन गरेका थिए भने देउवाको निर्देशनमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले फोन गरेको डा.शेखर काेइरालानिकट एक केन्द्रीय सदस्यले बताए । प्रत्युत्तरमा शेखरले पार्टी जोगाउनलाई यो निर्णयमा पुग्नु परेको बताएका थिए ।
“कोशीमा म ब्याक हट्न सक्दिनँ । पार्टीबाट नै मुख्यमन्त्री बनाऔँ । आफ्नो समूहबाट नभए अर्कोमा जाऔं भन्न सक्नुभएन,” शेखरले दिएको जवाफबारे उनी निकट नेताले भने, “कांग्रेसबाट यही नाम र यही व्यक्ति हुनुपर्दछ भनेको थिइनँ । कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्दछ मात्रै भनेको थिएँ ।”
कार्कीको नेतृत्वमा प्रदेश प्रमुखलाई बुझाइएको हस्ताक्षरबाट आफू पछि हट्नै नसक्ने शेखरले बताएका थिए । राष्ट्रपति र ज्ञानेन्द्रबहादुर कार्कीको अनुरोध नाम फिर्ता लिनका लागि थियो ।
“नाम फिर्ता गरेर गठबन्धनकै सरकार बनाउन सहयोग गर्नुस् भन्ने थियो । शेखर दाइले स्पष्टसँग नाम फिर्ता गर्न नसकिने बताउनुभयो,” शेखर निकट नेताले भने ।