एमाले गण्डकीको अध्यक्षमा शर्मा विजयी

19

गण्डकी, १९ असोज । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । गएराति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई १६६ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।

शर्माले ५३१ मत ल्याउँदा अधिकारीले ३६५ प्राप्त गरे । म्याग्दीका शर्मा यसअघिको प्रदेश कमिटीमा पनि अध्यक्षको भूमिकामा थिए ।

यस्तै, ५३४ मतसहित उपाध्यक्षमा मीनप्रसाद गुरूङ विजयी भए भने उपाध्यक्षका अर्का उम्मेदवार बाबुराम सुनारले ३७२ मत प्राप्त गरे । सचिवमा धनञ्जय दवाडीले ५२० ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी रश्मी आचार्यले ३६७ मत पाएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए ।

उपसचिवमा ४९९ मतसहित दामबहादुर विक विजयी हुँदा उनका प्रतिस्पर्धी सन्तोष रावलले ३९७ मत प्राप्त गरे । उपसचिव महिलातर्फ ५३१ मत ल्याएर मञ्जु गुरूङ विजयी भइन् भने उनका प्रतिस्पर्धी मीना गुरूङले ३६५ मत प्राप्त गरिन् ।

बिहीबार भएको मतदानमा कुल ९०७ प्रतिनिधिमध्ये ८९६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत थापामगरले जानकारी दिए । अधिवेशनबाट ५ पदाधिकारीसहित विभिन्न ‘क्लस्टर’बाट १६५ उम्मेदवार निर्वाचित भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...