काठमाडौँ, १३ असोज । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बिहान १ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले शनिबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा ६ रूपैयाँ बढाएको जानकारी दिएको छ । त्यस्तै, खाना पकाउने ग्यासको भाउ प्रतिसिलिण्डर २१५ रूपैयाँ बढाएको छ ।
हवाई इन्धन आन्तरिकतर्फ लिटरमा ८ रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ६० डलर (प्रतिलिटर करिब ८ रूपैयाँ) बढाएको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ३४ पैसा, डिजेलमा ४ रूपैयाँ ८२ पैसा, ग्यासमा १७३ रूपैयाँ ४५ पैसा र हवाई इन्धनमा प्रतिलिटर ६ रूपैयाँ ५४ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ ।