सबै बेथितिको अन्त्य आउँदो २०८४ को निर्वाचनले गर्नेछ : रवि लामिछाने

34

काभ्रेपलाञ्चोक, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहत दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् ।

काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उनले जनताका मुद्दामा केन्द्रित भएर आफूहरू अघि बढेको जिकिर पनि गरे । “हामी जनताका साना–साना मुद्दामा ध्यान दिन्छौँ, उहाँहरूका काममा साथ दिन चाहन्छौँ, चिनीको मूल्य घटाउनेतर्फ पनि अब सम्बन्धित ठाउँमा पुग्नेछौँ, सडक तताउँदैनौँ,” उनले भने ।

उनले आफ्ना नेता तथा कार्यकर्ताले जनतालाई सडकमा आउ भन्ने होइन, अब धान काट्न बोलाउनुस् भनेर जनतासँग आग्रह गर्नुपर्नेमा जोड दिए ।

रास्वपाले भ्रष्टाचारलगायत आपराधिक घटनाका विषयमा संसद्‌बाट विरोध जनाएको र अब एकैपटक २०८४ मा मात्रै बोल्ने नेता लामिछानेले बताए । “हामी आम नागरिकलाई सास्ती हुनेगरी जनतालाई सडकमा उतार्दैनौँ, सबै बेथितिको अन्त्य आउँदो २०८४ को निर्वाचनले गर्नेछ,” उनले भने ।

कार्यक्रममा रास्वपा सांसद मनिष झाले हरेक आयोजना सञ्चालन गर्दा भविष्यलाई मध्यनजर गर्नुपर्ने औँल्याए ।

Share This:
सम्बन्धित खबर
Loading...