काठमाडौँ, ३ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् ।
संविधान दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय एकता र समाजवादोन्मुख अर्थव्यवस्थाका लागि संविधानले महत्वपूर्ण दिशा देखाएको बताएकी हुन् ।
“हाम्रो संविधानले सबै प्रकारका सामाजिक विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा अबद्ध गरेको छ,” भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, “यसले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनालाई साकार बनाउन समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि मार्गदर्शन गरेको छ ।”
समाजवादोन्मुख अर्थतन्त्रको लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा ऊर्जाशील युवाशक्तिसहित मानवीय संसाधनको दिगो सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । संविधानद्वारा सुनिश्चित गरिएको मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गरिनुपर्नेमा पनि उनले जोड दिएकी छन् ।
मुलुकको बृहत्तर हित र राष्ट्रिय विकासका लागि संविधान केवल साधनमात्र रहेको र त्यसको विवेकपूर्ण उपयोगमार्फत् जनता र राष्ट्रको समग्र भलाइ खोज्ने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा रहेको उनको भनाइ छ ।