बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

11

काठमाडौँ, ३० भदौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार बिहान १ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटिट्तेलको मूल्य बढाएको हो ।

निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ बढाएको जानकारी दिएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ १२ पैसा र डिजेलमा २ रूपैयाँ ९१ पैसा बढाएर नयाँ मूल्यसूची पठाएको छ ।

निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवम् हालसालै भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागु हुने छ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई ३ वर्गमा विभाजन गरेको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १८० रूपैयाँ ५० पैसा प्रतिलिटर पर्ने छ । त्यस्तै, डिजेल र मट्टितेल १७० रूपैयाँ ५० पैसा पर्ने छ ।

त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १८२ रूपैयाँ प्रतिलिटर पर्ने छ । त्यस्तै, डिजेल र मट्टितेल १७२ रूपैयाँ पर्ने छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १८३ रूपैयाँ प्रतिलिटर पर्ने छ । त्यस्तै, डिजेल र मट्टितेल १७३ रूपैयाँ पर्ने छ ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...