भ्रष्टाचारविरूद्धको अभियान रोकिन्न : नेता पौडेल

16

पोखरा, २५ भदौ । नेकपा (माओवादी केन्द्र)का सचिव एवम् गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले सरकार भ्रष्टाचारविरूद्धको अभियानबाट पछि नहट्ने बताएका छन् ।

पोखरामा आइतबार आयोजित प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिको पूर्ण बैठकमा उनले सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकार दृढ रहेको उल्लेख गरे । “बरू सरकार छोड्न परे पनि जनतालाई अपिल गरेर छोड्छौँ, तर सुशासनको अभियानलाई बीचमै रोक्दैनौँ,” उनले भने, “भ्रष्टाचारविरूद्धको अभियान थालेपछि देशव्यापी रूपमा सरकार र पार्टीप्रति सकारात्मक सन्देश गएको छ ।”

उनले तीन महिने पार्टी रूपान्तरण अभियानले माओवादी केन्द्रलाई पुनः जनतामा स्थापित गर्ने बताए । “विधान अधिवेशनमार्फत् सांगठानिक सुधारसँगै विचार र कार्यक्रममा पनि व्यापक बहस गरेर अगाडि बढ्छौँ,” पौडेलले भने, “पार्टीलाई नयाँ पुस्तासँग जोड्ने गरी लाग्नुपर्ने आवश्यकता छ ।”

परिवर्तनका संवाहक दल भएर पनि माओवादीले आफ्ना मुद्दा र उपलब्धिलाई जनस्तरमा स्थापित गर्न नसकेको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...