अब सरकारको नेतृत्व देउवाले गर्नुपर्छ : शेखर कोइराला

31

मकवानपुर, २४ भदौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने बताएका छन् ।

११०औँ बिपी जयन्तीको अवसरमा आज हेटौँडा–११ को नवलपुरमा बिपीको शालिक अनावरण गर्न हेटौँडा आएका कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताएका हुन् ।

कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजक हुँदै गएको आरोप लगाउँदै सरकार फेर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डकै कारण धरानमा जातीय द्वन्द्व भएको उनको टिप्पणी छ । उनले भने, “प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौँ भनेर भन्नुभयो । सुर्खेतमा गएर एक–दुई महिनाभित्र डेढ–दुई लाख जना मानिस सडकमा उतार्छौँ भन्नुभयो ।”

नेता कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छौँ र जातीय राज्य बनाउँछौँ भन्दै हिँड्दा धरानमा घटना घट्न पुगेको दोहोर्‍याए । “धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भयो,” उनले भने ।

कांग्रेस सबैभन्दा ठुलो दल भएकाले स्वभाविकरूपमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने उनको भनाइ थियो । कोइरालाले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...