बुटवल, २० भदौ । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । एमाले लुम्बिनीको नयाँ नेतृत्वका लागि अध्यक्षमा पाल्पाका कँडेल र प्युठानका हरिप्रसाद रिजालबीच प्रतिस्पर्धा भएको थियो ।
तीव्र प्रतिस्पर्धाका बीच २ मतको अन्तरले कँडेल विजयी भएका हुन् । कँडेलले ४७९ मत ल्याउँदा रिजालले ४७७ मत प्राप्त गरेका थिए । निर्वाचित कँडेल उपाध्यक्ष विष्णुप्रसाद पौडेलनिकट मानिन्छन् ।
उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ विजयी भएका छन् । उनले ४५५ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी विश्वराज बरालले ३०६ मत ल्याए । उपाध्यक्षमा श्रेष्ठ र बरालसहित पुजन विश्वकर्मा र शान्तकुमार वली पनि प्रस्पिर्धामा थिए । रिजाल र बराल एमाले महासचिव शंकर पोखरेल निकटका हुन् ।
सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् । उपसचिव खुलामा रोल्पाका पूर्ण बुढामगर विजयी भएका छन् । बुढामगरले ४१८ मत ल्याउँदा उनका प्रतिस्पर्धी दुर्गाप्रसाद थारू चौधरीले ३९१ मत ल्याए ।
महिला उपसचिवमा लीला राना विजयी भएकी छन् । रानाले ३५२ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी बसन्ती अधिकारीले ३५१ मत ल्याइन् । खुला सचिव र महिला दुवैमा ३–३ जना प्रतिस्पर्धामा थिए । यस्तै, लेखा समितिमा दामोदर घिमिरे विजयी भएका छन् ।
पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । ४ पदाधिकारीसहित भूगोलतर्फ रूपन्देही, बाँके, दाङ र गुल्मीसहित ४ जिल्लाका लागि मतदान भएको थियो । महाधिवेशनबाट २०५ सदस्यीय कमिटी निर्वाचित भएको छ ।
गत १६ गते सुरू भएको एमाले लुम्बिनीको प्रथम अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मंगलबार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो ।