काठमाडौँ, १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बिनासर्त आफ्नो पार्टीले एउटा संसदीय समितिको नेतृत्व गर्ने मौका पाएको बताएका छन् ।
कोशी प्रदेशको सरकारमा सहभागी गराउन सत्ता पक्षले राप्रपालाई एउटा संसदीय समितिको नेतृत्व दिएको चर्चा भइरहेका बेला उनले बिना कुनै लेनदेन आफूहरूले संसद्मा आफ्नो सिट संख्याको आधारमा पूर्वाधार विकास समितिको नेतृत्व पाएको स्पष्टीकरण दिएका हुन् ।
“समितिको सभापति र कोशी प्रदेशको सरकारलाई जोड्ने काम जुन भइरहेको छ त्यो नै गलत छ,” उनले भने,“धेरै लामो समयदेखि नै संसदीय समितिहरूमा राष्ट्रिय पार्टीहरूलाई संसद्मा उसको उपस्थितिअनुसार÷हैसियतअनुसारको भाग दिने भन्ने कुरा उठिराखेको थियो, चर्चामा आइराखेको थियो । त्यही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा समितिको नेतृत्व गर्ने मौका पाएको हो ।”
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जबाफ दिने क्रममा अध्यक्ष लिङ्देनले एमालेले आफ्नो सिट संख्याको आधारमा तीन वटा समितिको नेतृत्व पाएजस्तै आफूहरूले पनि त्यसैलाई आधार मानेर एउटा समितिको नेतृत्व गर्ने मौका पाएको दाबी गरे ।
कोशी प्रदेशको सरकार नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनाउँदा उपयुक्त हुन्छ भन्ने आफूहरूको अडान कायमै रहेकोसमेत दोहोर्याए ।