कानुनभन्दा बाहिर गएर कुनै निर्णय गरेको छैन : ओली

40

काठमाडौँ, ७ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म कानुनभन्दा बाहिर गएर कुनै निर्णय नगरेको बताएका छन् ।

बिहीबार नेपाल राष्ट्रिय भूपूसैनिक तथा प्रहरी संगठनले भक्तपुरमा आयोजना गरेको बृहत् भेलामा बोल्दै उनले विगतमा आफूले नेतृत्व गरेको सरकारको पालामा कानुन पल्टाएर मात्रै निर्णय गरेको जिकिर गरे ।

उनले भने, “सुन तस्करीलगायतका अनगिन्ती भ्रष्टाचारका काण्ड छोप्न एमालेले भ्रष्टाचार गर्‍यो भनेर विषयवस्तुलाई अन्तै मोड्न खोजिँदै छ, मलाई कानुनले हतकडी लगाउन सक्ने कुने ठाउँ राखेको छैन । म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री र गृहमन्त्री हुँदा मेरा काम कारबाही एक शब्द नचिप्लियोस् भनेर मैले कानुनका पाना पल्टाइपल्टाइ निर्णय गरेको छु त्यसैले कसैको इच्छाले केपी ओलीलाई फसाउन सकिन्छ, हतकडी लगाउन सकिन्छ भनेर नसोचे हुन्छ ।”

आफू देश बनाउने अभियानमा लगाडि बढिरहेको भन्दै उनले विरोधीले आफूलाई माकुराको जालो बुनिरहेको टिप्पणी गरे । “अहिलेको भ्रष्टाचार ढाकछोप गर्न झापाको टि स्टेटको कुरा निकाल्दै छन्, हेरे हुन्छ, त्यति खेर ७० बिघा जग्गा कसको पालमा बिक्री भएको हो, जथाभावी गर्नुहुन्न भनेर त्यसलाई मैले नियम बनाइदिएको छु, त्यसैले रोकिएको छ,” उनले भने,“त्यसैले मलाई फसाउन नसोचे हुन्छ, माकुराको जालोमा कहिल्यै भैँसी पर्दैन, त्यस्ता जालो न खुट्टाले थाहा पाउँछ, न सिङले थाहा पाउँछ न त जिउले नै थाहा पाउँछ ।”

झुटो आरोपमा आफूलाई कसैले गोली हान्न सक्छ तर त्यसमा मलाई कुनै आपत्ति छैन भन्दै उनले पञ्चायतकालमा हुँदै नभएको दोष लगाएर जेलमा १० वर्ष भुक्तान भइसके पनि विभिन्न बहानामा बनाएर थप ४ वर्ष राखे जस्तैको समय र बेला अहिले होइन भने ।

उनले देशमा सामाजिक एकता भड्किन कुनै गतिविधि गर्न दिन नहुने बताउँदै कोशी प्रदेशमा अहिले जनजातिहरू भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...