काठमाडौँ, ७ भदौ । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले उच्चस्तरीय जाँचबुझ आयोग गठनको सहमतिलाई ‘ठट्टा’ नसम्झन चेतावनी दिएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् उनले छानबिन आयोग बन्ने सहमतिलाई ठट्टा गर्दा महँगो पर्ने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम नलिई रिमालले सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै प्रभावशाली नेताले ‘सहमति विपक्षीलाई छक्याउने रंगिन टालो’ भन्दै बिल्ला हान्नुले साथीहरूको नियतमा खोट भएको टिप्पणी गरे ।
सुन तस्करीको विषयमा छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न बुधबार दलहरूबीच सहमति भएको थियो ।
बुधबार संसद् बैठकबाट बाहिरिँदै गर्दा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गरेका थिए ।
यसको जबाफमा एमाले उपमहासचिव रिमालले संवेदनशील विषयमा ‘ठट्टा’ गरे महँगो पर्ने चेतावनी दिएका छन् ।
“छानबिन आयोग बन्ने सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै ‘प्रभावशाली’ भनिने नेताले ‘सहमति विपक्षलाई छक्याउने रंगिन टालो’ भन्दै बिल्ला हान्नुले प्रष्ट हुन्छ– साथीहरुको नियतमा कहिँ न कहिँ खोट छ,” उनले भनेका छन्, “अहिले यत्ति चाँहि भनौँ– मित्रहरु, यस्तो संवेदनशील विषयमा ‘ठट्टा’ नगरौँ, महँगो पर्छ है ?”