पिक्कल, २ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेको बताएका छन् ।
इलामको फिक्कलमा शुक्रबार आयोजित पार्टीको ‘पुनः जागरण उत्साह र एकता नेपाली कांग्रेसमा आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अब कांग्रेस बदल्न नचाहने कमजोर बन्दै जाने तर्क गरे ।
विधानले निर्णय गर्ने पूर्णअधिकार सभापतिलाई दिएकाले आफूहरू नेतृत्वमा भएर पनि झट्टै बदल्न नसकिएको उनको भनाइ छ । “सभापतिको परम्परागत तरिका सहेर बस्दैनौँ । संघर्ष गर्छौँ, पार्टी बदलेरै छाड्छौँ,” उनले भने, “कांग्रेस बदलिए मात्र देशमा परिवर्तन आउन सक्छ ।”
आउँदो चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने थापाको भनाइ छ । एकल बहुमत ल्याउन आजकै मितिबाट पार्टीलाई नयाँ ढंगबाट बदलेर लैजान जरूरी भएको उनले बताए ।