मलेखु, ३२ साउन । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विसं २०८४ को आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताएका छन् ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता निधिले वर्तमान सरकार निर्माण गर्दा नै विसं २०८४ को आमनिर्वाचन पार्टी सभापति देउवा नेतृत्वको सरकारले गराउने सहमति भएको स्मरण गराए । “चालु संसद् ५ वर्ष कायम रहनु नै वर्तमानको सन्दर्भमा स्थिरता कायम रहनु हो, यो संसद् ५ वर्षनै कायम रहन्छ,” उनले भने, “विसं २०८४ मा हुने आमनिर्वाचनसम्म देशमा तीन वटा प्रधानमन्त्री पाउने छ, संसद् विघटन हुने छैन ।” सरकारको नेतृत्व परिवर्तन हुनु अस्थिरता नभएर संसद् विघटन हुनु अस्थिरता रहेको उनले बताए ।
कांग्रेस नेता निधिले २०८४ सालको निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै त्यसका लागि कांग्रेसको संगठन मजबुत बनाउन र जनमुखी काम गर्न कार्यकर्तासँग आग्रह गरे ।