काठमाडौँ, २९ साउन । नवनियुक्त मन्त्री अनितादेवी साहले शपथ लिएकी छन् । सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई शपथग्रहण गराएका हुन् ।
जनमत पार्टीका तर्फबाट मन्त्री बनेकी साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइएको हो ।
धनुषाकी अनितादेवीलाई सरकारमा सहभागी गराउनकै लागि प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई आइतबार फिर्ता बोलाएका थिए ।
जनमत पार्टीले सचिव अनितादेवीलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरेको थियो ।
गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो । जनमतका तर्फबाट मन्त्री बनेका तत्कालीन खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए ।
जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो । दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो ।
सरकार छाडेको ४ महिनापछि जनमत फेरि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएको छ ।