काठमाडौँ, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसद् अवरूद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
संसद् भवनअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर संसद् नियमित गर्न सभामुख देवराज घिमिरेसँग लिखित आग्रह गरेको पनि जनाए । उनले संसद् नचलेको अवस्थामा कुनै पनि बेलामा हामीले हाजिरी मात्र गरेर तलब सुविधा लिनु उचित नरहेको ठानेर यसअघि अवरूद्ध भएको संसद् बैठक र अब हुने संसद् अवरूद्ध बैठकबाट आउने सेवासुविधा नलिने घोषणा गरे । यसबारे पनि लामिछानेले सभामुख घिमिरेलाई पत्रमार्फत् जानकारी दिएका छन् ।
“हामीले संसद् नचलेको अवस्थामा कुनै पनि बेलामा हामीले हाजिरी मात्र गरेर तलब सुविधा लिनु हुँदैन भनेर हाम्रो दलको तर्फबाट संसद् नचलेको दिनको पैसा नलिने र त्यो व्यवस्था गरिदिन आग्रह गरेका छौँ । काम नगर्दा नेपाली जनताले तिरेको करको पैसा लिनेकुरा स्वीकार्य छैन । संसद् अवरूद्ध भएका बेलामा प्राप्त हुने तलब सुविधा अघिका दिनका पनि काटिदिन आग्रह गरेका छौँ,” उनले भने ।
सभापति लामिछानेले सुन प्रकरणबारे आफूले गरेको संकेतलाई केलाएर हेर्ने हो भने नयाँ तथ्यहरू फेला पर्ने दाबी गरे ।