कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन : ओली

82

काठमाडौँ, २० साउन । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक देशले राष्ट्रिय हितको पक्षमा काम गर्दा अरूको जायज हितलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । सार्वभौम समाजमा पारस्पारिक लाभ र पारस्पारिक सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले यही पारस्पारिक लाभ र सम्मान नहेरिकन राष्ट्रिय हितको मात्रै पक्षपोषण गरियो भने त्यो अन्यायपूर्ण हुने उल्लेख गरे ।

नेकपा (एमाले)को परराष्ट्र मामिला विभागले शनिबार आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी नेकपा (एमाले)को धारणा’ कार्यक्रममा अध्यक्ष ओलीले निषेधको नीतिले सकारात्मक परिणाम आउन नसक्ने बताए ।

“हरेक देशको आफ्नै प्रकारको विदेश नीति हुन्छ, अवस्था कस्तो छ, स्तर कस्तो छ ? नीतिले निर्धारण गर्दछ, यी सबै पक्षलाई विचार गरेर आज हाम्रो देशको हामीले अपनाउनुपर्ने विदेशी नीति, परराष्ट्र सम्पन्न कसरी अगाडि बढाउने भन्ने कुरा विभिन्न पृष्ठभूमिमा निर्धारण हुन्छ,” उनले भने ।

आन्तरिक र बाह्य सम्बन्धमा दृष्टिकोण बनाउन तथा नीति प्रस्तुत गर्न नेपाल स्वतन्त्र रहेको अध्यक्ष ओलीको भनाइ थियो । उनले भारत दार्चुलाको लिम्पियाधुरामा महाकाली नदीलाई सिमाना नमानेर जिद्धी गरिरहेको बताए । अध्यक्ष ओलीले भने,“लिम्पियाधुरा भएर बग्ने महाकाली नदीलाई नेपाल र भारतको सिमाना मान्नुपर्नेमा लिपुलेक भएर बग्ने सानो कुलोलाई सीमा भनेर अर्घेल्याइँ गरिरहेको छ, कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याइँ हो । हाम्रो दाबी छाड्नु हुँदैन ।”

अध्यक्ष ओलीले कालापानीमा भारतले ६१ वर्षअघि कुनै सम्झौता वा कुनै जानकारी नदिइकन एकतर्फीरूपमा आफ्नो सेना ल्याएर राखेको उल्लेख गर्दै नेपाल सरकारले लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गर्न नहुने बताए । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन आफैँले बुझ्ने तयारीका क्रममा सरकार छाड्नुपरेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, “इपिजी प्रतिवेदन नबुझ्ने भन्ने थिएन, तर मिति मात्रै तोकिएको थिएन, पछि मैले बीचमै सरकार छाड्नुपर्‍यो ।”

इपिजी प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि भारतीय प्रधानमन्त्रीले समय नदिएका कारण उक्त प्रतिवेदन हालसम्म सार्वजनिक नभएको उनको आरोप छ ।
–––

Share This:
सम्बन्धित खबर
Loading...