अहिले देखिएको आर्थिक संकट अस्थायी हो, त्यसमा सुधार हुँदै जान्छ : अर्थमन्त्री महत

82

काठमाडौँ, २० साउन । अर्थमन्त्री प्रकाशशरण महतले अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको र क्रमशः सुधार हुँदै जाने बताएका छन् । शनिबार काठमाडौँमा नेपाल अडिटर्स एसोसियन (अडान)को १८औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै मन्त्री महतले अर्थतन्त्रमा रहेको समस्या हल गर्न मौद्रिक नीतिमार्फत् सम्बोधन गरेको बताए । उनले वित्त नीतिमार्फत् पनि सरकारले आर्थिक क्षेत्रका लागि कार्यक्रमहरु ल्याउन लागेको उल्लेख गरे ।

मन्त्री महतले अन्तर्राष्ट्रिय परिस्थित, कोभिडको प्रभावको कारणबाट सिर्जना भएको असर अर्थतन्त्रमा अझै कायम रहेको उल्लेख गर्दै अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको बताए । सरकारले तरलता वृद्धि गरी त्यसमा सुधार गर्दै लैजाने बताए । उनले सुशासनको महत्वपूर्ण कुरा लेखापरीक्षणसँग जोडिएको बताउँदै एकाउन्टेन्स र अडिटिङमा पारदर्शीता कायम गर्न ठुलो भूमिका रहेको बताए ।

उनले भने, “यो पेशाको विस्तार र भूमिका बढाउन आवश्यक छ । हिसाबकिताब चुस्त दुरुस्त राख्ने, त्यसलाई पुनः परीक्षण गरेर हेर्ने, चाहे राज्य संयन्त्रको होस वा अन्य निकायको होस त्यसको हिसाब किताब हेर्ने काममा महत्वपूर्ण भूमिका छ ।” मन्त्री महतले अडानले हिसाबकिताब चुस्त दुरुस्त राख्न तालिम दिनका लागि सिटिइभिटीसँग तालिम कार्यक्रम अघि बढाउन लागेकोमा धन्यवाद दिँदै सरकारबाट आश्यक सहयोग गर्ने वचन दिए ।

मन्त्री महतले बजेटको स्रोत सुनिश्चितता गरेको आधारमा बहुवर्षे विकासका आयोजना अघि बढाउँदा पछि बजेटको नपुग्ने र काम थालेका निर्माण व्यवसायीलाई भुक्तानीमा समस्या रहेको बताए । उनले व्यवसायीहरुलाई ऋण लिँदा आफ्नो क्षमता हेरेर, त्यसबाट कति प्रतिफल आउँछ, त्यसलाई हेरेर मात्र ऋण लिन र हचुवाको भरमा काम गर्दा समस्या आउने बताए ।

उनले नेपालमा काम गर्नका लागि धेरै सम्भावनाहरु रहेको बताउँदै धैर्यता राख्ने हो भने अवसरहरु रहेको र त्यसलाई उपभोग गर्नेतिर लाग्नुपर्ने बताए । मन्त्री महतले आर्थिक संकट भोगेको उद्योगी व्यवसायीहरुलाई सकारात्मक बहस सुरु गरेर हामी गर्न सक्छौँ भन्ने मान्यताका साथ अघि बढ्न आग्रह गरे । उनले सम्भावना भएका क्षेत्रमा मात्र लगानी गर्न उद्योगीहरुलाई आग्रह गर्दै कृषि लगायतका उद्योगहरुमा धेरै सम्भावना रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...