काठमाडौँ, १३ साउन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार जनतालाई सुशासन दिन लागिपरेको बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ६ ले आज आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले सुशासनलाई सरकारले अभियानका साथ अगाडि बढाएको बताएका हुन् । “विकास निर्माणमा हुने गरेको ढिलासुस्तीलाई कम गर्न सरकारले काम गरिरहेको छ,” उनले भने ।
उपप्रधानमन्त्री खड्काले सरकारले केही दिनभित्र संघीय शिक्षा ऐन, संघीय निजामति ऐन, संघीय प्रहरी ऐनलगायतका महत्वपूर्ण ऐनलाई संसद्मा प्रस्तुत गर्न लागेको जनाए । वर्तमान सरकारले सेवाग्राहीलाई कसरी सहज रूपमा सेवा प्रदान गर्न सकिन्छ भनेर लागेको उनको भनाइ थियो ।
उनले पार्टीको घोषणापत्र र गठबन्धनले निर्माण गरेको नीति तथा कार्यक्रमका आधारमा सरकारले काम गरिरहेको उल्लेख गरे । नेपालको अर्थतन्त्रलाई सुधार गर्न वर्तमान सरकार लागेको उनको भनाइ थियो ।