काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति चुन्न पार्टीका सबै क्रियाशील सदस्यले मत दिने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।
केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा बोल्दै नेता पौडेलले पार्टीले उम्मेदवार चयन गर्दा अनिवार्य प्राइमरी इलेक्सनको व्यवस्था गर्नुपर्ने बताए । उनले अहिले कांग्रेस संकटको अवस्थामा रहेको भन्दै आत्ममूल्यांकन गरेर सुधारतर्फ अघि बढ्नुपर्ने भन्दै सुझावहरू राखे ।
“कांग्रेस संकटमा छ, म कोही दाइभाइको पक्षमा नभइ एउटा कार्यकर्ताको रूपमा आत्ममूल्यांकन गरेर सुधारको बाटोमा अघि बढाउन आवश्यक छ भन्ने रायसहित सुझावहरू राख्न चाहन्छु,” उनले अघि भने, “अहिले पार्टीको स्वास्थ्यमा गम्भीर समस्या छ । सिटामोलबाट हल हुने अवस्था छैन, सर्जरीकै खाँचो छ ।”
नेता पौडेलले वर्तमान निर्वाचन प्रणालीमा कसैले पनि बहुमत ल्याउन नसक्ने अवस्था रहेको भन्दै संवैधानिक प्रावधानहरूलाई संशोधन गर्न आवश्यक रहेको बताए ।
प्रतिनिधिसभा समावेशीसहित २०१ सिटको पूर्ण प्रत्यक्ष हुनुपर्ने उनको भनाइ छ । राष्ट्रियसभा समावेशीसहित ३५ सिटको बनाउन सकिने उनले बताए ।
कार्यसम्पादन समितिका निर्णय २ महिनाभित्र केन्द्रीय समिति बसेर अनुमोदन नभए बदर हुने व्यवस्था गर्न पौडेलको माग छ ।
नेता पौडेलले गणतन्त्रपछिका सबै भ्रष्टाचार काण्डको निष्पक्ष छानबिनका लागि पार्टीले नेतृत्व गर्नुपर्ने बताए । उनले भ्रष्टाचारमा संलग्न कसैलाई पनि पार्टीले संरक्षण दिन नहुने र निष्पक्ष छानबिनका लागि सहयोग पुर्याउनुपर्ने बताए ।