गुरू कुट्नेको संरक्षण गर्नु गलत : ओली

49

काठमाडौँ, १४ असार । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुरू कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित मदन भण्डारी मेमोरियल कलेजको २२औँ वार्षिकोत्सवमा बोल्दै अध्यक्ष ओलीले गुरू कुट्ने संस्कृति हाबी हुँदै गएको बताए ।

उनले गुरूलाई देवतासमान मान्ने देशमा गुरू कुट्ने संस्कृतिको विकास हुनु दुःखद् कुरा भएको बताए । उनले सभ्यताको दियो बाल्ने देशमा गुरू कुट्नेहरूको संरक्षण र प्रोत्सहन गर्ने सरकारको काम खेदजनक रहेको बताए । उनले कथित विद्यार्थीले आफ्नो तिरको होइन कुट्न पाउनुपर्छ भन्ने संस्कृतिको विकास गर्न सरकार उद्धत भएको बताए ।

“आजकाल गुरू कुट्ने संस्कृति छ । बडा दुःखद् कुरा हो यो । हाम्रो देश जस्तो एउटा सभ्यताको जग, सभ्यता सुरू गर्ने देश, सभ्यताको दियो बाल्ने देश, यस्तो देश गुरूदेवो भवः भन्ने देश आज गुरूको ढाड खुस्क्याउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ,” उनले भने, “प्रोफेसर कुट्न किन विद्यार्थीले नपाउने, मजाले पाउँछ भनेर कुट्छ, गुरू हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो रहेछ, हाम्रो खालको विद्यार्थीले अर्को खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार । त्यसमा पनि विद्यार्थी नाम मात्रका हुन्छन्, विद्यार्थी होइनन् । बाहिर सडकका हुन् । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ ।”

अध्यक्ष ओलीले प्राध्यापक कुट्नेहरूलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिजुजस्तो नराम्रो कुरा अरू हुनै नसक्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले शिक्षा व्यावहारिक र जीवनउपयोगी हुनुपर्नेमा समेत जोड दिए । उनले व्यक्ति र समाजका लागि उपयोगी हुने खालको शिक्षा आवश्यक रहेको बताए ।

उनले शिक्षालयले पनि विद्यार्थीलाई सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिनसक्ने हुनुपर्ने भन्दै मदन भण्डारी कलेजलाई नमुना कलेज बनाउन सुझाव दिए । विद्यार्थी असफल भए शिक्षक पनि असफल हुने भन्दै उनले शिक्षकले पनि मेहनत गर्नुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...