रवि लामिछानेको राहदानी मुद्दामा आज सुनुवाइ

46

काठमाडौँ, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।

लामिछानेको राहदानी दुरूपयोगसम्बन्धी मुद्दा नचल्ने भनेर महान्यायाधिवक्ता दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै सोमबार रिट निवेदन दायर भएको थियो ।

अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरूद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरूपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको भन्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ ।

यसअघि नै लामिछानेले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै सर्वोच्चले नेपाली नागरिकता नभएको फैसला सुनाएको थियो । उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता लिइसकेका छन् ।

महान्यायाधिवक्त पोखरेलले लामिछानेमाथि राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय यही चैत ६ गते गरेका थिए । त्यसदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए भने रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको थियो ।

उक्त निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेपछि आज सुनुवाइ गर्न लागिएको हो ।

यो पनि हेर्नुस्
रवि लामिछानेको स्पष्टोक्ति– राहदानी मुद्दामा सौदाबाजी गरेको छैन

प्रधानमन्त्रीले राजनीतिक सौदाबाजी गरेर रवि लामिछानेलाई सफाइ दिन लगाए : जनमोर्चा

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

राहदानी विवादमा रवि लामिछानेविरूद्ध मुद्दा चलाउन नपर्ने सरकारी वकिल कार्यालयको ठहर

Share This:
सम्बन्धित खबर
Loading...