काठमाडौँ, १८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानीको मुद्दामा आफूले सरकारी निकायसँग सौदाबाजी नगरेको बताएका छन् ।
शनिबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जबाफमा उनले पासपोर्ट मुद्दा मिलाउन सरकारसँग सौदाबाजी नगरेको दाबी गरेका हुन् ।
महान्यायाधिवक्ता दीनमणि पोखरेलले रास्वपा सभापति लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय चैत ६ गते गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र उच्च सरकारी वकिल कार्यालयको निर्णयमा टेक्दै अमेरिकी पासपोर्ट र नागरिकता बोकेर नेपाल आएको विषयलाई कसुर मान्न नमिल्ने भन्दै महान्यायाधिवक्ता पोखरेलले मुद्दा नचलाउने निर्णय गरेका थिए । उक्न निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन गरिएको थियो । निर्णय गर्नुपहिला रास्वपा संसदीय दलका नेता डिपी अर्यालले महान्यायाधिवक्ता कार्यालयमा गएर भेट गरेका थिए । प्रचण्डलाई रास्वपाले विश्वासको मत दिएको थियो ।
सभापति लामिछानेले भने उक्त मुद्दामा सौदाबाजी नगरेको बताएका हुन् । लामिछानेले अब ‘मुद्दा बल्झिन नदिने’ बताए । उनले पासपोर्ट मुद्दामा अधिकारप्राप्त निकायहरूले निर्णय गरेको बताए । अरू दलका नेताहरू विभिन्न मुद्दामा जेल परेर न्यायिक प्रक्रिया पूरा नभइ निस्किने गरेको तर आफूले भने सबै न्यायिक प्रक्रिया पूरा गरेको बताए ।